आँबुखैरेनीमा पहिरोले अवरुद्ध सडक खोल्न भित्ता खार्न थालियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आँबुखैरेनीमा पहिरोले अवरुद्ध सडक खोल्न भित्ता खार्न थालियो


२७ जेष्ठ २०७९, शुक्रबार


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायात सञ्चालनका लागि भित्ता खार्न थालिएको छ ।

निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको छ । भित्ता खारेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

‘डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ कि भन्ने छ’, उनले भने, ‘बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।’

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ । सडक भासिएको ठाउँमा एउटा कार र मोटरसाइकल समेत पुरिएको छ ।

कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी जनाएको छ । पहिरोसँगै मोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस