वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाग्मती प्रदेशको चक्रपथ : यसरी खुल्नेछ विकास र समृद्धिको ढोका


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्त्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्त्व दिएका केही रणनीतिक महत्त्वका आयोजनाको विकास र विस्तारले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने छ ।

प्रदेश सरकारको विशेष प्राथमिकतामा राखेको १३ जिल्ला जोड्ने चक्रपथ निर्माणलाई यसै वर्षदेखि सुरु गर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेका अनुसार यसै वर्षभित्र वाग्मती प्रदेश चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम सम्पन्न गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।

उक्त चक्रपथले वाग्मती प्रदेशभित्रका १३ वटै जिल्लाको यातायातको सहजप्रबन्धदेखि नागरिकको अपेक्षालाई समेत सम्बोधन गर्नेछ । प्रदेशका सबै जिल्लालाई जोड्नको लागि र यातायातमा सहज वातावरण निर्माण गर्नको लागि उक्त चक्रपथ यसैवर्षभित्र निर्माण सुरु गरिने मुख्यमन्त्रीको भनाइ छ ।

सो परियोजनालाई प्रदेशको गौरवका आयोजनाका रुपमा समेत चित्रण गरिएको छ । दोलखाको गौरीशङ्कर, धादिङको तिप्लिङ, चितवनको फाँटदेखि मकवानपुरसम्म, सिन्धुलीदेखि रामेछापसम्म अटाएको यस प्रदेशको विकास, समृद्धि र यहाँका नागरिकको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने प्रयास प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० भित्र नै प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने हेटौँडा—कुलेखानी—काठमाडौँ सडक दुई लेनको निर्माण गरिने जानकारी दिए ।

त्यस्तै, प्रदेश सरकारले सडकका अलावा सुरुङ निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । यस प्रदेशभित्र चार वटा सुरुङ निर्माणको लागि तत्कालका लागि रु ६० करोड बजेट विनियोजन गरिने उनको भनाइ छ । ती सुरुङमध्ये चोभार—हेटौँडा, खुर्कोट—चियाबारी, ताल्ती—लोडर र हुदी—शक्तिखोरको डिपिआर सम्पन्न गरिनेछ ।

त्यस लगत्तै सुरुङ निर्माणको काम प्रारम्भ गरिनेछ । प्रदेश सरकारको प्राथमिकतामा सुरुङमार्ग छ । सुरुङ निर्माणमा सङ्घीय सरकारको समेत उत्तिकै चासो छ ।

सङ्घीय सरकारले काठमाडौँ–मकवानपुर–चितवन द्रुतमार्ग निर्माण गर्ने गरी आगामी आवको बजेटमा कार्यक्रम समावेश गरेको छ । सो मार्गको काम अगाडि बढ्दा त्यसको केन्द्रमा वाग्मती प्रदेश सरकार नै रहन्छ । प्रदेश सरकारले पनि सोही अनुसार प्रक्रिया अगाडि बढाएको तथा सुरुङ तथा द्रुतमार्ग निर्माणमा पनि उत्तिकै चासोका साथ योजना तय गर्ने, बजेट विनियोजनसमेत गरेको छ ।

उद्योगमा यस्तो छ प्रदेशको योजना

वाग्मती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि कृषिऔजार कारखाना निर्माण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । कृषि क्षेत्रमा यस प्रदेशको भूमिका महत्त्वपूर्ण छ । सङ्घीय राजधानी काठमाडौँलाई आवश्यक पर्ने तरकारी, फलफूल, दूध तथा अन्य खाद्य उपज उत्पादनका लागि विशेष प्राथमिकतामा राखिएको छ ।

त्यसमाथि धादिङ, चितवन, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोकलगायतका जिल्लाले काठमाडौँ उपत्यकालाई तरकारी र खाद्य उपजको आपूर्ति गरिरहेको छ । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ प्रदेश सरकारले योजनावद्ध प्रयास गरिरहेको छ ।

त्यस्तै, प्रदेशका किसानलाई किसान परिचयपत्र प्रदान गर्नुको साथै मल कारखाना निर्माणको लागि प्रोत्साहन गर्ने योजनासमेत उनले सुनाए । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत यी विषयलाई विशेष प्राथमिकताका साथ सम्बोधन गरेको छ ।

रासायनिक मल कारखानाको लागि ठुलो रकम लाग्ने कारणले विदेशी लगानीलाई प्रोत्साहन गरेर मलमा आत्मनिर्भर हुनुकासाथै उक्त कारखानाबाट रोजगारीसमेत सिर्जना हुनेछ । प्रदेश सरकार आफैले पनि रासायनिक मल कारखानाको स्थापनाका लागि चासो व्यक्त गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग पनि प्रदेश सरकारले त्यस सम्बन्धमा प्रारम्भिक चरणमा छलफल गरिसकेको छ । मुख्यमन्त्री पाण्डेले कृषिको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल कारखाना स्थापनाका लागि प्रदेश सरकारले चासो राख्दै प्रक्रियासमेत अगाडि बढाएको छ । त्यसका साथै प्रदेश सरकारले ग्रामीण र घरेलु तथा साना लगानीका उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ र सोही अनुसार काम गरिरहेको छ ।

यस वर्ष १० हजार युवालाई रोजगार दिने

यस वर्ष प्रदेशका १० हजार युवालाई तालिम दिएर रोजगार प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको छ । सो कार्यको लागि आवश्यकता अनुसारको उद्योग, कृषिलगायतका स्थानमा आवश्यक पर्ने सिपमूलक तीन महिने निःशुल्क तालिम दिने र तालिमपश्चात् रोजगारको निश्चितसमेत सरकारले नै गर्ने योजना रहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । युवालाई सीप विकास गराएर सीप अनुसारको रोजगारी दिने योजना प्रदेश सरकारको रहेको उनको भनाइ छ ।

प्रदेशमा विश्व विद्यालय

वाग्मती प्रदेशमा प्रदेशमा विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण गरिने मुख्यमन्त्री पाण्डेको योजना रहेको छ । यसको साथै निजी क्षेत्रलाई पनि सम्बन्धन प्रदान गरिने र सम्बन्धन प्राप्त गर्ने निजी विश्वविद्यालयले कम्तीमा १०० देखि २०० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउनुपर्ने सर्त राखिने उनको भनाइ छ । सो कार्यले विज्ञान प्रविधिमा प्रदेशमा विपन्न वर्गका छात्रा छात्रले पनि शिक्षा हासिल गर्न सक्ने वातावरण रहने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

समाजवादी वडामा ध्यान

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले समाजवादी वडा कार्यक्रम लागू गरिने जानकारी दिए । हाल नमुनाको लागि प्रदेशको एक हजार १२१ वटा वडामध्ये ११९ वटा वडामा उक्त कार्यक्रम लागू हुने उनको भनाइ रहेको छ ।

यसको लागि प्रदेशका ११९ पालिकाको १/१ वटा वडालाई समाजवादी वडा बनाइने उनको भनाइ छ । नेपालको संविधानले समेत समाजवादलाई आत्मसात् गरेको छ ।

समाजवादी वडा कार्यक्रम लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको समेत उनको दाबी छ । समाजवादी वडा कार्यक्रम लागू भएको वडामा विभेदरहित वातावरण निर्माण हुने, बालबालिका, महिला र ज्येष्ठ नागरिकको लागि मैत्रीपूर्ण वातावरण निर्माण हुने, सबै प्रकारका सेवा सहज रुपमा उपलब्ध गराउने मुख्यमन्त्रीले जानकारी दिए ।

उक्त कार्यक्रम लागू हुनु भनेको ‘आफ्नो गाउँ आफै बनाउनु पनि हो ।’ सोही अनुसार जनताले बुझ्ने र सरकारले सघाउने उनको भनाइ रहेको छ । सुखी र समृद्धिको नमुना देखाउन लायक वडा बनाउन पनि समाजवादी वडा कार्यक्रम ल्याइएको मुख्यमन्त्री पाण्डेले बताए ।

समाजवादी वडा कार्यक्रम लागू भएका वडामा चेतनाकोस्तर वृद्धि गरेर जातीय, धार्मिक, वर्गीय लगायतको विभेद अन्त्य गरिने उनको भनाइ छ । सो वडाका युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट समेत रोकिने उनको भनाइ रहेको छ ।

त्यसको लागि ग्रामीण र घरेलु उद्योग स्थापना हुनेछ । सो उद्योगबाट उत्पादित सामग्रीलाई बजारीकरण गरेर आर्थिकरुपले सम्पन्न बनाइने योजना अगाडि सारिएको छ ।

राजनीतिक रुपमा अनुभवी र पूर्व स्थानीय विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालेका पाण्डे नेकपा(एकीकृत समाजवादी)को उपाध्यक्ष समेत हुन् । उनको आफ्नै अनुभवले पनि वाग्मती प्रदेश सरकार अन्य प्रदेशभन्दा अब्बल बन्नेमा कुनै शङ्का छैन ।

सङ्घीय सरकारको साधन र स्रोतसमेत यसै प्रदेशमा बढी प्राप्त हुने, सुगमताका हिसाबले पनि सहज भएकाले प्रदेशवासीको विकासप्रतिको चाह छिट्टै पूरा हुने विश्वास गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस