मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर


२६ जेष्ठ २०७९, बिहिबार


धनगढी । भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता वसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा शुक्रवारका लागि पेशी तोकिएको छ ।

२०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी निर्वाचित भएपछि अख्तियारले उपाध्यायविरुद्ध भ्रष्ट्राचार मुद्दा रहेको भन्दै निलम्बन गर्न निर्वाचन आयोग, सामान्य प्रशासन मन्त्रालय र मोहन्याल गाउँपालिकालाई पत्राचार गरेको थियो ।

तर उनको नाम जिल्ला समन्वय समितिको निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा समावेश गरेको र उनले गाउँपालिकाको अध्यक्षको हैसियतमा केही निर्णय पनि गरेको पाइएकाले रोक लगाउन माग गर्दै रिट दायर गरिएको हो ।

रिटमा उपाध्यायविरुद्ध परेको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनी निलम्बन भए पनि जेठ ३० गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि प्रकाशित मतदाता सूचीमा समावेश नगर्नु भनी अन्तरिम आदेश माग गरिएको छ ।

कानुनी अन्योलताले केही दिन उपाध्यायको शपथ रोकिएको थियो तर उनलाई शपथ ग्रहण नगराउँदा उपाध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधिको शपथ रोकिने कुरालाई ध्यानमा राखेर निर्वाचन आयोगले वैकल्पिक बाटोबाट शपथ ग्रहण गराएको थियो ।

जनप्रतिनिधिलाई भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस