एमाले सांसदद्वारा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले सांसदद्वारा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामाको माग उठेको छ ।

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको जिकिर गर्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरूमा काँग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन गर्न लागिएको हो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतको अन्याय गरेको आरोप लगाए ।

यही सन्दर्भमा उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग राखे ।

थापाले प्रचलित कानुन बमोजिम नै बूढीगंगामा मतदान भएको भन्दै पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्नुपर्ने माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस