पहिरोको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पहिरोको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा


२३ जेष्ठ २०७९, सोमबार


भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिरोको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा सरकारको रु तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरी चाँगुनारायण–४ हुची ढुङ्गामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गरेका हुन् ।

नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रसूति सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले १० शय्यामा सञ्चालित उक्त अस्पतालको उत्तरदिशाबाट माटो र ढुङ्गा खस्न थालेपछि भवनमा हुनसक्ने क्षति र जोखिमको समेत उनले अवलोकन गरे ।

नवनिर्वाचित नगर प्रमुख खत्रीले अस्पतालको अनुगमन गर्दै अस्पतालमा जाने सडक नै जोखिममा परेकाले सडक र अस्पताल भवनको संरक्षण एवं पहिरो रोकथामका लागि जतिसक्दो छिटो काम गर्न नगरपालिकाको प्रशासन शाखालाई निर्देशन दिएका छन् ।

नगर प्रमुख खत्रीले भने, ‘नागरिकको स्वास्थ्य सरोकार राख्ने अस्पतालको पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र अस्पतालको संरक्षण मेरो पहिलो प्राथमिकता हो, यसमा आएका समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेको छु ।’

उनले यहाँका नागरिकको स्वास्थ्यमा सरल पहुँच पुर्‍याउन गुणस्तरीय स्वास्थ्य सेवालाई दुरुस्त बनाउन, अस्पताल जाने सडक र पहिरोको जोखिममा रहेको भवन संरक्षणमा आफू आएपछि नगरपालिकाले गम्भीर रुपमा चासो लिएर काम सुरु गरेको बताउँदै अस्पताल माथिबाट खसेको पहिरो रोकथामका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर पालको व्यवस्थापन गर्ने र रोकथाम गरिने बताए ।

अस्पतालको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईँले आज नगरप्रमुख खत्री, अन्य जनप्रतिनिधि र कर्मचारी समेतको टोलीले अस्पतालको अवस्थाकाबारेमा अनुगमन गरेको बताए ।

उनले भने, ‘बाहिर हल्ला भए जस्तो अस्पताल भवन जोखिममा परेको छैन, भीर खारेरै अस्पताल भवन बनाएको हो, माथि भिरबाट खुकुलो केही माटो खसेको छ, यद्यपि माटो पनि खस्न नदिने गरी सावधानी अपनाउँदै रोकथाम गर्न रेडक्रससँग पाल लिएर काम गर्दैछौँ ।’

नगरपालिका आगामी आवका लागि बजेट बनाउने काममा तीव्र गतिमा लागिरहेको बताउँदै अब आउने आर्थिक वर्षमा अस्पतालको पहिरो रोकथाम, सडक पक्की गर्ने, टेवा पर्खाल लगाउने र सेवा गुणस्तरीयता बनाउन आवश्यक बजेट विनियोजन गरेर थप काम गर्ने तयारी भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस