१२ पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१२ पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ दिने


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ।

वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्।

स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य सङ्गठनको नेपाल कार्यालयमा काम गर्थे। उनी बागमती प्रदेशका संयोजक थिए।

चुनावका लागि उनी गत असोजदेखि गाउँमै बस्न थालेका थिए। गाउँमा बस्दा कलिला नानीहरूले भागेर विवाह गर्ने गरेको आफूले देखेको उनले बताए।

एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जाने उनको भनाई छ ।

‘यसले दीर्घकालीन समाधान दिन सक्छ। हिसाब गर्दा गाउँपालिकालाई पनि त्यति ठुलो आर्थिक भार पर्ने देखिन्न,’ अध्यक्ष महतोले भने।

बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल थाल्ने उनले बताए।

यो कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ।

अध्यक्षका हैसियतमा आफ्नो पहिलो प्राथमिकता नै गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार रहेको उनले बताए।

अध्यक्ष महतोले आफ्नो दोस्रो प्राथमिकतामा स्वास्थ्य सेवा रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस