सरुवा-बढुवा हुन नेता भेट्ने प्रहरीको रेकर्ड राख्न थालेका छौँ : धिरजप्रताप सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरुवा-बढुवा हुन नेता भेट्ने प्रहरीको रेकर्ड राख्न थालेका छौँ : धिरजप्रताप सिंह


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरुवा-बढुवा हुन भ्रातृ सङ्गठनका नेता भेट्ने प्रहरीहरूको रेकर्ड राख्न थालेको बताएका छन् ।

आज (बिहीबार) महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कतिपय मिडियामा यस्ता कुराहरू आएपछि त्यसबारे सत्यता बुझ्नुपर्ने उनले बताए ।

‘कोही भ्रातृ सङ्गठनका मानिससँग नजिकिएर सरुवा-बढुवा भएको भन्ने विभिन्न मिडियामा चाहिँ आउँछन् । सत्यता कति छ बुझ्नुपर्ने छ,’ उनले भने ।

राजनीतिक व्यक्तित्वसँग मात्रै नजिकिएर कुनै पनि प्रहरीले सरुवा-बढुवा नपाउने पनि उनले बताए । उनले त्यस्ता व्यक्तिहरूको रेकर्ड राख्ने बताएका हुन् ।

‘राजनीतिक सोर्स फोर्सले मात्रै त्यो व्यक्तिले सरुवा-बढुवा पाउँदैन । त्यस्ता व्यक्तिहरूको रेकर्ड हामीले राख्न सुरुआत गरेका छौँ । जो अत्यन्त राजनीतिक व्यक्तित्वहरूसँग लाग्छ र कार्यदक्षता केही पनि छैन उनीहरूको रेकर्ड राख्न सुरु गरेका छौँ,’ उनले भने ।

उनले कुनै पनि सरुवा-बढुवाको विषय एउटा ब्याचीहरूबीच कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने गरेको पनि बताए ।

‘मेरिट बेसमा हुन्छ र त्यसमै गर्नुपर्छ । निजामतीमा जस्तो लेखेर ल्याउने हुँदैन । ब्याचभित्र उत्कृष्ट जो छ त्यही अगाडि आउँछ । कसैलाई टिपेर ल्याइँदैन। विभिन्न कार्यसम्पादन मूल्याङ्कनबाट पनि गरिएको हुन्छ । ब्याचीहरूबीच प्रतिस्पर्धा हुन्छ र उत्कृष्ट हुनेलाई वरीयतामा अगाडि ल्याइन्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस