स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुन सकेको छैन ।

हेडवक्र्सको काम नसकिँदा वर्षा यामसँगै आउने बाढीले गर्न सक्ने क्षतिका कारण पानी बन्द हुने गरेको छ । गत वर्ष मेलम्ची आएको बाढीले मुहान क्षेत्रमा पुगेको क्षति पुनः निर्माण गरी यस वर्ष चैत अन्तिम साता फेरि मेलम्चीको पानी सुन्दरीजल ल्याई राजधानीवासीका धारामा वितरण सुरु भएको छ ।

यस वर्ष पनि वर्षा लागेसँगै सुरुङमा पानी बन्द गर्ने योजना खानेपानी मन्त्रालयले बनाएको छ । हाल मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानीमा वितरण भइरहेको छ ।

आगामी वर्षमा याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउन आवश्यक अध्ययन पूरा गरिने लक्ष्य पनि बजेटमा लिइएको छ । याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी आउनेछ । याङ्ग्री र लार्केबाट पनि दैनिक १७–१७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ ।

काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि राजधानी वरिपरिका स्रोतको अध्ययन भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यी स्रोतबाट पनि केही अभाव पूर्ति गर्न सकिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस