उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उत्साहजनक विकास भएको छ : मुख्यमन्त्री राई


१३ जेष्ठ २०७९, शुक्रबार


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यस प्रदेशमा विकासको काम उत्साहजनक भएको बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९/८०को बजेट तर्जुमा छलफल तथा अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले महत्त्वपूर्ण योजनालाई सरकारको सिद्धान्त, प्राथमिकता एवं नीति तथा कार्यक्रममा समावेश हुने विश्वास दिलाए ।

मुख्यमन्त्री राईले बजेट, नीति तथा कार्यक्रम बनाउने सरकार र कर्मचारीको दायित्व मात्र नभएर स्थानीय तहको जनप्रतिनिधि एवं सांसदको जिम्मेवारी भएको उल्लेख गर्दै जनताबाट आउने विकासका योजना नै व्यवहारिक हुने बताए ।

उनले योजना छनोटमा जनता र सरोकारवालाको रुचाई र रोजाई हुनुपर्ने भन्दै सरकार घाटा बजेट बनाउने दिशामा नरहेको स्पष्ट पारे ।

घाटा बजेट बनाएर आज श्रीलङ्कामा आर्थिक सङ्कट परेको भन्दै मुख्यमन्त्री राईले बजेट निर्माण अघि अझ सरोकारवालसँग घनिभूत छलफल गर्ने बताए ।

अधिकार र बजेटका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग लडाई गर्ने विचार राख्दै उनले भने, ‘प्रदेशमा सिँचाइ, खानेपानी, पर्यटनजस्ता क्षेत्रमा प्रगति हासिल गरेको छ ।’ उनले गलत बाटोबाट योजना नछिर्ने र जनप्रतिनिधिलाई अझ ठोस ढङ्गले योजना ल्याउन सुझाव दिए ।

सङ्घको निजामती कर्मचारी ऐन नआएका कारण प्रदेश सरकारले कर्मचारी भर्ना गर्न समस्या रहेको स्पष्ट पार्दै मुख्यमन्त्री राईले सरकारले बहुवर्षीय र नयाँ योजनामा बजेट विनियोजन नगर्ने बताए ।

प्रदेशसभा सदस्य वशन्तीदेवी यादव, शिवनारायण गनगाँई, लिलाबल्लभ अधिकारी आम नागरिकले अनुभूति गर्ने किसिमको बजेट भएमा मात्र सरकारप्रति जनताको विश्वास बढ्ने विचार व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर प्रदेशको राजधानी भए पनि पूर्वाधार विकासमा पछि परेको बताउँदै अबको पाँच वर्षमा विराटनगरले विकासमा छलाङ लगाउने विश्वास दिलाए ।

प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले प्राकृतिक सम्पदा र संस्कृतिले परिपूर्ण यो प्रदेशमा प्रगतिका प्रचुर सम्भावना र अवसर छन् भने ।

आर्थिक मामिला तथा योजना सचिव सुमन दाहालले प्रदेशको वास्तविकतामा रहेर सरकारले बजेट बनाइरहेको धारणा राखे ।

कार्यक्रममा मोरङका गाउँपालिका र नगरपालिकाका प्रमुख एवं उपप्रमुखले विकासका विविध पक्षमा चर्चा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस