बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह


१२ जेष्ठ २०७९, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ ।

सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले प्रश्न गरेका छन्– अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने हो ? आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होला ? अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उनको यो भनाई आएको हो ।

अमेरिकी सहर टेक्सासमा मङ्गलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए ।

सम्बन्धित समाचार : टेक्सास विद्यालय नरसंहार: १८ बालबालिकासहित २१ जनाको हत्या

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कुलमा एक जना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको पनि बताइएको छ ।

त्यस गोली काण्डमा परेर ज्यान जानेमा १८ जना विद्यार्थी र तीन जना शिक्षक रहेका पनि सो समाचारमा जनाइएको छ ।गोली लागेर अरु १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका समाचारमा जनाइएको छ ।

कार्यकारी निर्देशक क्याथेरिनले भनेका छन्– आज यो दुर्घटना टेक्सासमा भयो, अब फेरि अर्को कहाँ होला भन्ने त्रास हाम्रो दिमागमा रहेको छ ।

उनले यस्तै दर्दनाक अवस्था हामीले अफगानिस्तान, युक्रेनलगायतका देशमा पनि देखिसकेका छौँ भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस