कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्सन चुल्हो दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्सन चुल्हो दिने


११ जेष्ठ २०७९, बुधबार


वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने झन्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘घर–घरमा रहेका ग्यासका सिलिन्डर लिने र इन्डक्सन चुल्हो दिने निर्णय गरेका छौँ ।’ यसलाई आगामी गाउँ सभाबाट पारित गरेर लागू गर्ने उनले बताए ।

कालीगण्डकीलाई धुवाँरहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युत्को प्रयोगमा जोड दिइएको बताए ।

यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्सन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।

उक्त कार्यक्रम प्रभावकारी भएसँगै यस पटक पुरै गाउँपालिकाभरि नै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युत्को पहुँच सबै घरधुरीमा पुर्‍याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ ।

यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस