मधेस केन्द्रित दल आफ्नै ठाउँमा कमजोर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेस केन्द्रित दल आफ्नै ठाउँमा कमजोर


११ जेष्ठ २०७९, बुधबार


लहान । मधेस प्रदेशको सिरहामा मधेस केन्द्रित दलहरू कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सिरहामा मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अवस्था कमजोर बनेको छ ।

सिरहाको १७ स्थानीय तहमध्ये जसापले चार जित्दा लोसपाले खातासमेत खोल्न सकेन । सिरहामा एमाले पहिलो र जसपा दोस्रो शक्तिका रूपमा उभिएको छ । जसपाले अघिल्लो निर्वाचनमा जितेको जति परिणाम ल्याउन नसके पनि दोस्रो शक्तिका रूपमा कायम भएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको ६ स्थानीय तह जितेको जसपाले यसपालि चार मात्र जितेको छ । जसपाले पहिला जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिकामध्ये यसपालि बरियापट्टी गाउँपालिकामा मात्र आफ्नो पुरानो साख कायम राख्न सकेको छ । जसपाले पहिला जितेको पाँच वटै पालिका गुमाउँदा नयाँ तीन वटा पालिका जितेको छ ।

औरही गाउँपालिका र अर्नमा गाउँपालिका नेकपा (माओवादी केन्द्र)सँग खोसेको जसपाले काँग्रेसबाट नवराजपुर गाउँपालिका खोसेको छ । कतिपय स्थानीय तहमा जित नजिक पुगे पनि परिणाम आफ्नो उम्मेदवारको पक्षमा नआएको जसपाका नेताहरूले बताएका छन् ।

सप्तरीमा तीन स्थानीय तह जितेको लोसपाले सिरहामा भने एउटा पनि पालिका जित्न सकेको छैन । मधेस केन्द्रित दल आपसमा विभाजित हुनु, बिस्तारै नेताहरूमा विलासिता बढ्दै जानु र अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसक्नुजस्ता कारणले मधेस केन्द्रित दल कमजोर बनेको विश्लेषकको भनाइ छ । एमालेले सिरहाको १७ पालिकामध्ये एक्लैले नौ स्थानीय तह जितेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा सिरहाको तीन स्थानीय तह मात्र जित्न सकेको एमालेले यसपालि नौ स्थानीय तह जित्न सफल भएको छ ।

अघिल्लो निर्वाचनमा जितेको लहान नगरपालिका, सुखीपुर नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकामध्ये यसपालि एमालेले सुखीपुर नगरपालिकामात्र दोहोर्‍याएर जित्न सकेको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका यसपालि एमालेले जित्दा सबैभन्दा बढी वडा भएको लहान नगरपालिका भने एमालेले गुमाएको छ ।

त्यहाँ काँग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ । विसं २०७४ को निर्वाचनमा जसपाले जितेको सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका र नरहा गाउँपालिकामा यसपालि एमालेले जित निकालेको छ । यस्तै अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले नै जितेको छ ।

पार्टीको सही निर्णय, नेता कार्यकर्ताको सक्रियता र मतदाताको विश्वासका कारण जिल्लाको धेरै स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारले जित निकाल्न सफल भएको एमाले नेता एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बताए । ‘हामीले सही मूल्याङ्कन गरी उपयुक्त व्यक्तिलाई टिकट दियौँ’, उनले भने, ‘नेता–कार्यकर्तालाई पनि खटायौँ, उहाँहरु इमान्दारीतापूर्वक खट्नु भयो र मतदाताले हाम्रा उम्मेदवारलाई विश्वास गर्नुभयो, त्यसकै परिणामस्वरुप आज हामी जिल्लामा बलियो पकड बनाउन सफल भयौँ ।’

दुई छिमेकी जिल्ला धनुषा र सप्तरीमा बलियो पकड बनाएको काँग्रेस सिरहामा भने तेस्रो शक्तिमा सीमित भएको छ । काँग्रेस सिरहामा पूर्ववत् अवस्थामा देखिएको छ ।

अघिल्लो निर्वाचनमा दुई पालिका जितेको काँग्रेसले यसपालि पनि दुई पालिका जितेको छ । काँग्रेसले पहिला जितेको कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका गुमाउँदा यसपालि लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जितेको छ ।

पार्टीभित्रको घात–अन्तर्घात तथा मतदातामा भएको व्यापक रकमी चलखेलका कारण आफूहरुले चाहेजस्तो नतिजा निकाल्न नसकेको काँग्रेस सप्तरीका सभापति रामचन्द्र यादवले बताए ।

अघिल्लो चुनावमा पूर्वपश्चिम राजमार्गमा पर्ने अधिकांश पालिकासहित सिरहाको ६ पालिका जितेर ठुलो पार्टी बनेको माओवादी केन्द्र यसपालि भने एउटा पालिकामा सीमित भएको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका र अर्नमा गाउँपालिकामध्ये मिर्चैयाबाहेक सबै पालिका गुमाएको छ ।

जितेका सबै पालिकामा माओवादी केन्द्रले पुरानै उम्मेदवारलाई दोहोर्‍याएको थियो । मिर्चैया नगरपालिकाका प्रमुख र उपप्रमुख मात्र जित्न सकेको छ । बाँकी सबै गुमाएको माओवादी केन्द्रका नेता दिलीप साहले बताए ।

पार्टीभित्रको गुट–उपगुट, घात–अन्तर्घात र पुरानै उम्मेदवारलाई निरन्तरता दिनेजस्ता कारणले पार्टीले अधिकांश स्थानीय तह गुमाएको उनको भनाइ छ । एउटा गाउँपालिकाको अध्यक्ष जितेर नेकपा (एकीकृत समाजवादी)ले सिरहामा आफ्नो उपस्थिति जनाएको छ । एकीकृत समाजवादीले सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ । सो गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेस विजयी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस