मत गणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मत गणना नसकिँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि विजय हुने सुनिश्चित भएको छ ।

पछिल्लो मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबिचको मत अन्तर १२ हजार १४० छ ।

अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरूले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरूको भिड बढ्दै गएको छ ।

भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुबेदीबिच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली काँग्रेसका बागीको रूपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२७ मत पाएका छन् ।

यसैगरी उपमेयर तर्फ पनि नेपाली काँग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।

भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरू दुवै जना भारी मत अन्तरले पछि परेका छन् ।

रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस