एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए ।

उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम सुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताए ।

शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा विज्ञानराज शर्मा, कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ छ न्।

त्यसै गरी सदस्यमा दीपक थापा, प्रदीप यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठोर, भरतगुण थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशी छन् । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन ।

एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ ।

यसअघि पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस