स्थानीयवासीको अवरोधका कारण फोहोर व्यवस्थापनमा समस्या « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्थानीयवासीको अवरोधका कारण फोहोर व्यवस्थापनमा समस्या


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ ।

यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो ।

अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ ।

काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा सङ्कलन भएको फोहर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिकरुपमा ठुला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ ।

लामो समयसम्म टेकुमा फोहोर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।

यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।

यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहोरको व्यवस्थापन हुन सकेको थिएन ।

नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस