राजविराज । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सिमानाका बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सिमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए।
यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
मदिराका कारण विभिन्न खालका घटना हुन सक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र निर्णय विपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने उनले जानकारी दिए ।
जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ ।
साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।