यस कारण मेरो मत बालेनलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यस कारण मेरो मत बालेनलाई


२५ बैशाख २०७९, आइतबार


वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावले राजनीतिक माहौल तताएको छ। राजनीतिक दलहरूले गरिरहेका घरदैलो, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा यसको चर्चाले राजनीतिमा चासो नभएका आम मान्छेसमेत चुनावी माहौलमा होमिएका छन् । जसमा भरतपुर र काठमाडौँ महानगरको चुनावी सरगर्मीलाई विशेष चासोका साथ हेरिएको छ । यसमा आफू पनि एक काठमाडौँवासी भएकाले यहाँकै चर्चा गर्न गइरहेको छु। अझ विशेष गरी काठमाडौँ उपत्यकाका स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई मत दिने मनस्थितिमा म किन पुगेँ भनी यो लेख मार्फत चर्चा गर्न गइरहेको छु।

नेपालको राजधानी सहर र त्यसमाथि सहरको मुटुमा अवस्थित भएकाले काठमाडौँ महानगरको विशेष महिमा छ। देशकै मुख्य प्रशासनिक केन्द्र, संसद् भवन, लगायतका धेरै महत्त्वपूर्ण स्थानहरू र अन्य थुप्रै सांस्कृतिक महत्त्वका स्थानहरूसमेत यही हुनुले यसको महत्त्व बढ्नु स्वाभाविकै हो । तर विगत ५ वर्षमा स्थानीय सरकारले गरेका कुनै पनि कामको अनुभूति यस क्षेत्रका बासिन्दाले गर्न पाएको स्थिति छैन। फोहोर व्यवस्थापनका लागि कुनै नयाँ कदम चालिएन र अझै पनि उहीँ पुरानो शैलीमा परिवर्तन आएको छैन। यसैगरी महानगर क्षेत्रमा खट्किँदै आएको सवारी पार्किङको समस्या जहाँको त्यहीँ छ । अव्यवस्थित पार्किङले राजधानीलाई अस्तव्यस्त मात्रै बनाएको छैन, कि कुरूपसमेत बनाउँदै गएको देखिन्छ । महानगर क्षेत्रमा रहेका खाली स्थानहरूको सही उपयोग र व्यवस्थापन हुनुपर्नेमा भएको छैन। ती मासिँदै गएको स्थिति छ।

सांस्कृतिक महत्त्वको सहरमा भूकम्पले बिथोलेका सम्पदाहरूको पुनर्निर्माणमा महानगरको गैरजिम्मेवारीपनले ढिलासुस्ती भएको जगजायर छ। धुलो, धुवाँको व्यवस्थापन हुन सकेको छैन, महानगर प्रहरीहरू केबल फुटपाथ व्यापारीहरूको दुःखमा नुन चुक छर्किन व्यस्त देखिन्छन्। यस्तो अवस्थामा एउटा आम मान्छेको नजरबाट हेर्दा काठमाडौँ महानगर विगत ५ वर्ष जनप्रतिनिधिविहीन थियो भन्दा फरक नपर्ने स्थिति छ।

यस्तो अवस्थामा हाल आउँदै गरेको चुनावमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी न जेल बसेका छन्, न कसैको नातावाद र कृपावादका आधारमा चुनावमा भिड्दै छन् । तर पढेलेखेका छन् र महानगरको मुहार फेर्ने ठोस योजना अगाडी सारेका छन्। हामीले विगत ३ दशकमा धेरै राजनीतिक आन्दोलन देखेका छौँ । त्यस्ता आन्दोलनका लागि नेतृत्व गर्न विशेष साहस र क्षमता आवश्यक पर्ने स्थिति थियो र ती आन्दोलन सफल पार्न नेतृत्व लिएका र आफ्नो जीवनको अमूल्य समय खर्चिएका सम्पूर्णमा मेरो सलाम छ।

तर ती राजनीतिक आन्दोलनका उपलब्धिहरू राज्यले के पायो त ? कति वटा उत्कृष्ट विश्वविद्यालयहरू खुले ? कति रोजगारी सृजना भयो ? उत्पादन र उत्पादकत्वमा कति वृद्धि भयो ? आयातमा कति कमी भयो ? र निर्यात कति बढ्यो ? सायद यी र यस्तै धेरै प्रश्नहरूको उत्तर खोज्ने समय कुनै राजनीतिक दल र दलका नेतालाई होला ।

एक पक्षले अर्को पक्षलाई आरोप लगाउनु, यसले भन्दा म राम्रो गर्छु भन्नू राजनीतिमा सामान्य हो। हाम्रा राजनीतिक दलहरूले राजनीतिक परिवर्तन त गरे तर देशमा विकासका योजना दिन सकेनन्। अझैपनी कुनै ठोस योजना र ती पूरा गर्न सक्ने आधार दिन नसक्नु राजनीतिक दलहरूको निकम्मापन हो । यसो भन्दै गर्दा अझै पनि हामी पार्टीको झन्डामुनि बसेर यसले चुनाव जिते मैले जागिर पाउँला, कुनै ठेक्का हात पर्ला, कुनै राजनीतिक नियुक्ति पाइएला, कतै सोर्सफोर्स लगाउन पाइएला, कुनै दुई नम्बरी काम गर्न आड मिल्ला भन्ने जस्ता अन्तर्निहित स्वार्थका लागि कसैको पछि लाग्ने गरेका छौँ । तर यस्ता अन्तर्निहित स्वार्थ भन्दा माथि उठेर आफ्नो मत सही व्यक्तिमा दिन जरुरी छ । तर त्यसो गर्ने कहिले ?

अहिले देशका धेरै ठुला नेताका छोराछोरी विदेश छन् । धेरैजसो उच्चपदस्थका पनि सन्तान बाहिरै छन्। अनि देश कसका लागि र किन बन्नु पर्ने ? राजनीतिक दलले जे सुकै गरे पनि जनताले कानमा तेल हालेर बस्ने, अनि आफ्नो अमूल्य मत पनि कुनै स्वार्थकै लागि दिने हो भने राजनीतिक दलमा आफूले गरेको गल्ती कहिले महसुस हुने ? हामीले कहिले महसुस गराउने ? मलाई लाग्छ अब बेला आएको छ।

सुरुवात काठमाडौँबाट गरौँ। एक पटक यी राजनीतिक दलको आँखा खोल्नसमेत स्वतन्त्र उम्मेदवार ‘बालेन’ अगाडी आउन जरुरी छ। सबैजसो राजनीतिक दलको नेतृत्व हाम्रा हजुरबुवाको उमेर भएकाले गर्ने, अनि जेल–नेल र राजनीतिक परिवर्तनका योगदानका आधारमा हामीले मत तिनैलाई दिइरहने र देश भद्रगोल भएको हेरिरहने कहिले सम्म ? पढेलेखेका जति राम्रा देश जाने, श्रम गर्न सक्ने वर्ग विदेशमा पसिना बगाएर नेपालमा परिवारको पेट पाल्नुपर्ने र कमजोर वर्गबाट हामी शाशित भइरहनु पर्ने। यस्तो स्थिति कहिले सम्म ?

यसो भनिरहँदा कुनै राजनीतिक पृष्ठभूमि र राजनीतिको अनुभव नभएका, नेपालका नियम÷कानुनको ठोस ज्ञान नभएका, कुनै दलको हालसम्म समर्थन नगरेका बालेन शाह एक्लैले चाहेर पनि केही गर्न सक्दैनन् भन्ने यदाकदा सुनिने गरेको छ। यसमा हामीले के बुझ्न जरुरी छ भन्दा नेपालमा प्रचलित ऐन, नियम, कानुन आदिको जानकारी लिन कुनै ठोस अनुभव आवश्यक पर्दैन र बुझ्न चाहे÷खोजे बुझ्न सकिन्छ।

यसै गरी महानगर कसरी चलाउने अनुभव लिने भनेको महानगरमा काम गरेर मात्र हो। नगर सभामा राजनीतिक दलको समर्थन नभई कुनै निर्णय र काम गर्न गाह्रो पर्छ भन्ने विषयमा चाहिँ राम्रो काम गर्न चाहेमा जनता, सञ्चार माध्यम लगायतका सम्पूर्णले समर्थन गर्छन् भन्ने हामीले विद्युत् प्राधिकरणका कुलमान घिसिङलाई हेरे पुग्छ। जब मान्छेको नियत सफा हुन्छ, केही गरौँ भन्ने भावना हुन्छ र जनताका लागि केही गर्न खोजिन्छ, तब काठमाडौँ जस्तो स्थानमा फरक राजनीतिक विचारका शक्तिले पनि जनताको चासो र आम मान्छेको समर्थनले गर्दा सो कुरामा सहमति जनाउन बाध्य हुन्छन्। यसका साथै हामीले केही गर्छु भनेर आफ्ना योजना र सो पूरा गर्न सक्ने क्षमता प्रदर्शन गरेका बालेनलाई मत नदिए परिवर्तन कसरी आउला र ? समाज परिवर्तनका लागि राजनीतिक दलमा सबल व्यक्तिहरू आउन जरुरी छ।

तर हाम्रा राजनीतिक दल सबै पैसा, नातावाद, कृपावाद, प्रलोभनमा बिक्ने र हामीले त्यसैमा रमाउने भए परिवर्तन कसरी हुन्छ ? पढेलेखेको, जाने बुझेको, केही गर्न सक्ने क्षमता भएको युवा राजनीतिक नेतृत्वमा आउनुपर्छ। तसर्थ यसपालि मेरो मत केही गर्न सक्ने क्षमता र आधार भएका बालेनलाई !

Tags :
प्रतिक्रिया दिनुहोस