बाँके । बाँकेको नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
अहिले जमुनाह र रुपैडिया नाकामा दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीसमेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।
प्रनाउ न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतकोतर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए।
सो बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ। सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन्। जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ।
सिसिटिभी क्यामेरा जोडिँदै
बाँके जिल्लाका सबै मतदान स्थलमा सिसिटिभी क्यामेरा जोड्ने तयारी भइरहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले त्यसका लागि तयारी भइरहेको र केही दिनमै काम सुरु गर्ने जानकारी दिए।
“हामी त्यसैको तयारीस्वरुप विभिन्न मतदान स्थल अनुगमन गरिरहेका छौँ”, प्रजिअ खत्रीले भने। सरकारले निर्वाचनका लागि सिसिटिभी क्यामेरा अनिवार्य गरेको छ।
जिल्लामा कुल मतदान स्थल १३६ र मतदान केन्द्र ३७९ छन्। सुरक्षाका दृष्टिकोणले ११२ अति संवेदनशील र २४ संवेदनशील मतदान स्थल छन्। जिल्लामा राष्ट्रिय मान्यताप्राप्त छ दलबाहेक साना २३ दल यस पटक निर्वाचनमा सहभागी भएका छन्।