राँझा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा चुनावी चहलपहल बढेको छ ।
नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भई नसके पनि राजनीतिक दलले वडा स्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झन्डा टोल–टोलमा राखेका छन् ।
खासगरी नेपालगन्जको त्रिभुवनचोक पोस्टर र ब्यानर प्रदर्शन गर्ने चोक बनेको छ । चाडपर्वका शुभकामनादेखि पार्टीगत चुनावी प्रचारका ब्यानर र तुलले चोक भरिभराउ भएको छ ।
नेपालगन्जका भित्री बजारमा पनि तुल, ब्यानर लगाउने राजनीतिक दलबीच तँछाडमछाड नै देखिएको छ ।
वडा स्तरमा उम्मेदवार छनोट भएका नेता घरदैलो अभियानमा खटिएका छन् । नेपालगन्जमा नेकपा ९एमाले०का तर्फबाट नगरप्रमुख, उपप्रमुख र केही वडामा उम्मेदवार सर्वसम्मत सिफारिस भएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
सत्तारुढ पाँच दलीय गठबन्धनको भागबन्डामा नेपालगन्ज उपमहानगरपालिका प्रमुख नेपाली काँग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीलाई परेको छ ।
नगरप्रमुख आफ्नो पार्टीको हुने भएपछि काँग्रेसका कार्यकर्ता उत्साहित देखिएका छन् ।
भागबन्डामा आफ्नो पार्टीले प्रमुख नपाएको भन्दै जनता समाजवादी पार्टी र नेकपा ९माओवादी केन्द्र०का स्थानीय कमिटीले असन्तुष्टि प्रकट गरेका छन् ।
गत निर्वाचनमा माओवादी केन्द्रले चार वडाध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको सङ्गठन बलियो भए पनि भागबन्डा नपाएको प्रति माओवादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीले असन्तुष्टि व्यक्त गरे ।
नेपालगन्जमा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।