सुदूरपश्चिम । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबन्डा मिलाउन कस्सिएका छन् ।
कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी स्थानीय तहमा उम्मेदवारको भागबन्डा मिलाउन पटक–पटक बैठक बसेको हो । तर, हालसम्म भागबन्डामा कुरा मिलेको छैन । गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् ।
दलहरूले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबन्डा गर्न सकस भइरहेको हो । गठबन्धन दलबिच औपचारिक अनौपचारिक रूपमा पटक पटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । जिल्लामा यसअघिको निर्वाचनमा विजयी भएकाबाहेक चार तहमा नेपाली काँग्रेस र चार तहमा नेकपा माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ ।
एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले पाँच पालिकाको प्रमुखमा दाबी गरेको छ ।
कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको नेपाली काँग्रेसका जिल्ला सचिव नृप सुनारले बताए । उनले भने, ‘नेकपा (माओवादी केन्द्र)को दाबी जायज देखिए पनि नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गर्दा समस्या भइरहेको छ ।’ नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन दलका बिच निरन्तर बैठक छलफल भइरहेको भए पनि आजसम्म सहमति जुट्न नसकेको बताए ।
‘सकभर तालमेल गरेर चुनामा होमिन्छौँ’, नेकपा (माओवादी केन्द्र) का नेता रमेश धामीले भने, ‘तालमेल हुन नसके गठबन्धन दलबिच नै स्वास्थ्य प्रतिस्पर्धा गर्छौँ, गठबन्धन बाहिरका दलसँग तालमेल गर्दैनौँ ।’ उनले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पालिकाको प्रमुख, उपप्रमुखमा नभई वडाध्यक्ष र सदस्य पदमा दाबी गरिरहेको बताए ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले सात, काँग्रेस तीन, नेकपा माओवादी केन्द्र दुई तहको प्रमुखमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भइसकेको छ ।
एकीकृत समाजवादीको साङ्गठनिक अवस्था र जनाधार स्पष्ट नहुँदा पनि सहमति जुटाउन समस्या देखिएको जनाइएको छ । पालिका तहमा उम्मेदवार हुने सबै दलका आकाङ्क्षी बढ्दा पनि दलहरू बिच सहमति जुटाउन सकस भइरहेको जनाइएको छ । अघिल्लो निर्वाचनमा पाएको मतभारको विश्लेषण अध्ययन गरेर उम्मेदवारको टुङ्गो लगाउने प्रयास दलहरूबिच भइरहेको छ ।
गठबन्धनतर्फका उम्मेदवारको निर्वाचनमा जित सुनिश्चित देखिएको दाबी गर्दै ती दलका नेता कार्यकर्ताले सबै दलमा आकाङ्क्षी बढ्न थालेको बताएका छन् । पाँच दलीय गठबन्धन बाहिर रहेको नेकपा एमालेले पनि राप्रपा र परिवार दल लगायतसँग चुनावी तालमेल गरेर जाने विषयमा छलफल गरिरहेको छ । ‘राप्रपा र परिवार दल लगायतसँग छलफल भइरहेको भए पनि ठोस सहमति बन्न सकेको छैन’, एमाले नेता रणबहादुर चन्दले भने, ‘एमालेले सकभर एक्लै चुनावमा जाने तयारी गरिरहेको छ ।’
सो पार्टीले अहिलेसम्म जिल्लामा आफ्ना उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । आइतबार बस्ने एमाले प्रदेश समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सक्ने बताइएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेसमलाल चौधरीकी पत्नीको नेतृत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव रहेको क्षेत्रका तीन पालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।
टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको सो पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीले जानकारी दिए । उक्त पार्टीले जिल्लाका १३ पालिकामध्ये ११ मा आफ्ना उम्मेदवार उठाउन लागेको जनाइएको छ ।
जिल्लाको पूर्वी क्षेत्र टीकापुर र आसपासका क्षेत्रमा उक्त पार्टीको सङ्गठन बलियो मानिन्छ । विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेसमलाल चौधरी सो क्षेत्र (कैलाली क्षेत्र नं १) बाट अत्यधिक मतसहित विजयी भएका थिए । एक प्रदेशसभा सदस्यमा पनि उक्त पार्टी विजयी भएको थियो ।