अभिनेता शाहविरुद्ध तनहुँ अदालतमा आज मुद्दा दर्ता हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अभिनेता शाहविरुद्ध तनहुँ अदालतमा आज मुद्दा दर्ता हुँदै


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा आज (मंगलबार) मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपराह्नसम्म अदालतमा अभियोग पत्र दर्ता गर्ने गरी काम भइरहेको बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले पनि मंगलबार अपराह्नसम्म अभियोग दर्ता भइसक्ने जानकारी आएको बताए ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै उजुरी गरेपछि चर्चित नायकसमेत रहेका शाह अहिले प्रहरी हिरासतमा छन् ।

शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ। पीडित भनिएकी नाबालिगले दुई ठाउँमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ। त्यसपछि थुनछेकको बहसपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।

तनहुँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रक्रिया अगाडि बढ्न सक्ने छ ।

पूर्वी नवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस