पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न राष्ट्रपतिको जोड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न राष्ट्रपतिको जोड


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिँदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्त्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदै छ ।

“पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ”, राष्ट्रपति भण्डारीबाट आज जारी सन्देशमा भनिएको छ, “भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।

“बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भविष्यमा आउन सक्ने जल सङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनः भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्दछ”, सन्देशमा भनिएको छ ।

उनले सहरी क्षेत्रमा बर्सातको पानीमार्फत पुनः भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने बताइन् । साथै भूमिगत पानी पुनः भरणमा सहयोग गर्ने विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवा रोप्ने कार्यलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्दै द्रुत जलप्रवाह हुने भूगोलमा ‘चेक ड्याम’ लगायतका नवीन प्रविधिको प्रयोगद्वारा भूमिगत पानीको पुनः भरण कार्यलाई प्रोत्साहन गर्न राष्ट्रपति भण्डारीले सबैमा आह्वान पनि गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस