श्रीलङ्कामा आर्थिक सङ्कट, कागज अभावले परीक्षा स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्कामा आर्थिक सङ्कट, कागज अभावले परीक्षा स्थगित


७ चैत्र २०७८, सोमबार


काठमाडौं । श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा परेको छ । आर्थिक सङ्कटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रुद्ध गर्नु परेका समाचार सार्वजनिक भएका छन् ।

आजबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकाका लागि रुद्ध गरिएको श्रीलङ्काका अधिकारीहरूलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिँदा लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ ।

सन् १९४८ मा स्वतन्त्र भएपछिको सबैभन्दा खराब वित्तीय सङ्कटबाट श्रीलङ्का गुज्रिरहेको छ । वस्तु आयात गर्न डलरको अभाव छ ।

श्रीलङ्काको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ, ‘कागज अभावका कारण टेस्ट परीक्षा लिन कठिन भएको छ । किनभने कागज र मसी आयात गर्ने विदेशी मुद्रा छैन ।’

विदेशी मुद्रा अभावका कारण श्रीलङ्काको ऊर्जा क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित भएको छ । श्रीलङ्कावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरूमा मानिसहरूको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरूको पनि पेट्रोल पम्पहरूमा लामो लाइन देखिन्छ ।

यसै वर्ष श्रीलङ्कामाथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी छ । तर फेब्रुअरी महिनाको अन्त्यसम्म विदेशी मुद्रा भण्डार केबल २।३ अर्ब डलर रहेको समाचार सार्वजनिक भएको थियो । आवश्यक वस्तु खरिदका लागि श्रीलङ्कासँग विदेशी मुद्रा अभाव रहेको यही तथ्याङ्कले पनि देखाउँछ ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा बढेको महँगीले पनि श्रीलङ्का थप समस्यामा परेको छ ।

सङ्कट गहिरिँदै गएपछि श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आर्थिक सहयोग मागेको थियो । आईएमएफले श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले मागेको आर्थिक सहयोगमा विचार गरिरहेको जनाएको छ ।

श्रीलङ्काले मुख्य सहयोगी राष्ट्र चीनसँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो ।

आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका लागि भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार गरेको थियो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधवार भारतको राजधानी नयाँ दिल्ली आएको बेला सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस