अबका सबै निर्वाचनमा काँग्रेस पहिलो पार्टी : प्रवक्ता डा. महत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अबका सबै निर्वाचनमा काँग्रेस पहिलो पार्टी : प्रवक्ता डा. महत


६ चैत्र २०७८, आइतबार


सल्यान । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अबका तीनै तहका निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले भने, ‘अबका तिनै तहका निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’

प्रवक्ता डा महतले कम्युनिष्टहरुले जनताले दिएको मतको मूल्याङ्कन र सम्मान गर्न नसकेकाले परिस्थिति बस अहिले काँग्रेस सत्तामा पुगेको प्रसङ्ग उल्लेख गर्दै भने, ‘काँग्रेस आफूले चाहेर नभई कम्युनिष्टहरुले देशलाई दुर्घटनामा पार्न लागेकाले नेपाली जनताको चाहना बमोजिम नै काँग्रेसले सत्ताको नेतृत्व गर्नुपरेको हो ।’

इतिहासमा देशलाई अप्ठ्यारो परेका समयमा यसरी नै काँग्रेसले देशलाई नेतृत्व दिने गरेको र नेपाली जनताले पनि साथ दिएको स्मरण गर्दै प्रवक्ता डा महतले अबका स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा काँग्रेसलाई नै नेपाली जनताले पहिलो पार्टी बनाउने बताए ।

अघिल्लो नेकपाको सरकारको कुशासन र भ्रष्टाचार नेपाली नागरिकले देखेका र त्यस समयको ओली सरकारले दिएका झुटा आश्वासन पनि थाहा पाइसकेकाले नेपाली जनताले अब विवेक पुर्‍याइ नेपाली काँग्रेसलाई रोज्ने उनले बताए । उनले अबका सबै निर्वाचनहरूमा एक ढिक्का भई पार्टीलाई जिताउने काममा लाग्न जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले आजै नेपाल प्रेस युनियन सल्यानले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट उठ्ने उम्मेदवारहरूको टुङ्गो चैतभित्रै लगाइसक्ने पनि बताए ।

पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुङ्गो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको जानकारी उनले दिए । उनले पहिलेका निर्वाचन जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म पनि पार्टीका तर्फबाट को उठ्ने भन्ने विषयको टुङ्गो नलाग्ने स्थिति यस पटक नआउने र समयमै निर्णय गरिने सो अवसरमा बताएका हुन् ।

प्रवक्ता डा. महतले स्थानीय तहको उम्मेदवारीको सामान्य मापदण्ड निर्माण गरिने पनि जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस