दुई सचिवको सरुवा, ‘विवादित’ सिंह पुनः फर्किए शहरी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुई सचिवको सरुवा, ‘विवादित’ सिंह पुनः फर्किए शहरी


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्ले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै त्यहाँका सचिव डा. रमेश प्रसाद सिंहलाई शहरीमा फर्काइएको हो ।

‘विवादित छवि’का सचिव सिंहलाई मङ्सिर १३ गते प्रधानमन्त्री कार्यालयको अतिरिक्त(बरन्डा) मा तानिएको थियो र तर उनले ‘भिटो’ प्रयोग गर्दै त्यही दरबन्दी सिर्जना गराई पुस १४ गते अतिरिक्तबाट दरबन्दीमा सरेका थिए ।

सम्बन्धित समाचार : दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा

त्यसयता भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जान न्वारनदेखिको बल लगाएका उनले अन्तिममा पुरानै अड्डामा दाउ मारे । मनपरी योजना हालेकोदेखि विभागीय मन्त्रीलाई समेत नसोधी एकलौटी निर्णय गरेपछि मन्त्री रामकुमारी झाँक्रीले उनको सरुवा गरेकी थिइन् ।

सम्बन्धित समाचार : सचिवको कर्मचारी सेटिङ भत्काउँदै मन्त्री झाँक्री

आफै रहने कि बाहिरिने भन्ने दोधारका बिच तिनै मन्त्री झाँक्रीले अब केही समय आफैले आउट गरेका सचिवसँग काम गर्नुपर्ने बाध्यता आई लागेको छ । सिंह तेस्रो पटक शहरी सचिवमा फर्किएका फर्किएका हुन् ।

कर्मचारीदेखि कन्सल्टेन्सीसम्मै ‘सेटिङ’मा काम गर्ने सचिव सिंह विभागदेखि नै बदनामित छन् । अहिले पनि उनले गरेका निर्णय हेर्ने हो भने धेरै जसो कानुन विपरीत मात्रै छैनन्, शङ्का गर्नुपर्ने र छानबिनको दायरमा आउने धेरै ठाउँ भेट्न सकिन्छ । उनका केही त्यस्ता गतिविधिहरू प्रशासन डटकमसँग सुरक्षित छन् ।

सम्बन्धित समाचार : शहरी सचिव सिंहको सरुवा सेटिङ : यस्तो छ पछिल्लो सञ्जाल

करारमा कर्मचारी भर्ना होस् कि उपत्यका विकास प्राधिकरणमा गरिएका नियुक्ति नै किन नहोस्, उनका कैयन् कैफियतबारे सम्बन्धित निकायको मौनतालाई पनि अर्थपूर्ण रूपमा हेरिएको मन्त्रालय स्रोत बताउँछ । ‘तिनै सचिवलाई रोजाई रोजाई मन्त्रालय पठाउनुपर्ने सरकारलाई के बाध्यता आइलाग्छ ? त्यो भने बुझिनसक्नुको छ’ अर्का एक सचिव भन्छन् ।

अघिल्लो सरकारमा प्रधानमन्त्री ओलीलाई रिझाउन उद्घाटनकै लागि अनेक योजना थपेका उनले गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन प्रधानमन्त्री ओलीलाई नराम्ररी डुबाए । गुणस्तरमासमेत आशङ्का गरिएको उक्त हलमा निर्माण सम्पन्न नहुँदै उद्घाटन गराउँदा केही दिनमै पानी चुहिएको थियो । जसले ओली सरकारलाई आलोचितसमेत बनायो । त्यति मात्रै होइन, काँग्रेस सरकारमा आए लगत्तै ‘म त काँग्रेसकै छत्रछायामा हुर्केको मान्छे’ भन्दै केही काँग्रेसी नेताको दैलोमा पुगेका उनीबारे राम्ररी बुझेका नेताहरूले खासै महत्त्व दिएका थिएनन् । प्रधानमन्त्री कार्यालयमा रहेको बेला फुर्सदको समयलाई मज्जैले उपयोग गरेका उनले अन्ततः शहरीमा फर्किई छाडेका छन् ।

यसअघिका गतिविधिलाई निरन्तरता दिँदै थप हालीमुहाली जमाउने उनको मक्सद बुझ्न धेरै दिन पर्खिनु पर्नेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस