वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो ।
२५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो ।
आगलागीमा परी कानुको शरीरको छातीमुनिको ६० प्रतिशत भाग जलेको थियो । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा गए राति १२:१० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागीबाट मृतकको नातिनी ३ वर्षीया सुप्रिया साहको पनि घुँडा भन्दा मुनिको भाग जलेको छ । अहिले उनको अवस्था सामान्य रहेको छ ।