नक्कली भ्याट बिजक प्रयोग गरी ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नक्कली भ्याट बिजक प्रयोग गरी ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा


२ चैत्र २०७८, बुधबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

उच्च अदालत पाटनमा हिजो (मंगलबार) तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुबाट कुल १६ करोड ४३ लाख बिगो तथा जरिवाना माग गरिएको छ ।

मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दिपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौँको सितापाइलामा बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य रहेका छन् ।

उनीहरुले सौगात इन्टरनेसनल (स्था.ले.नं. ३०४३०९५४४) नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर तर्फ २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर तर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ समेत कुल बिगो ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी प्रतिवादीहरु दिपक कुमार देउजा र मोहनप्रसाद भट्टराईसँग असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग गरिएको छ ।

सुनिलमान शाक्यको हकमा मतियारलाई हुने सजाय हुन माग दाबी लिई अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस