वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु


२ चैत्र २०७८, बुधबार


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो । त्यस्तै व्यास नगरपालिकाले पनि वडाबाटै दर्ता सम्पन्न गरिसकेको छ ।

शुक्लागण्डकीका १२ वटै वडामा विवरण दर्ताको काम थालिएको हो । शुक्लागण्डकी –१२ का वडाध्यक्ष मनराज गुरुङका अनुसार वडामा सात दिन यो अभियान सञ्चालन हुनेछ ।

प्रत्येक वडाका टोलमा विवरण दर्ताको काम गरिने उनले बताए । ‘सर्वसाधारणको सहजताका लागि टोल टोलमा पुगेर विवरण दर्ताको काम सुरु गरेका छौँ’, उनले भने, ‘चैत ५ गतेसम्म अभियान सञ्चालन हुनेछ ।’

डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको प्रशासनले जनाएको छ । हालसम्म जिल्लामा २३ हजारभन्दा बढीको विवरण दर्ता भएको छ ।

विवरण दर्ताका लागि प्रशासन कार्यालयमा दुई वटा स्टेसन स्थापना गरिएको छ । नागरिकता बनाउने बित्तिकै परिचयपत्रका लागि विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ ।

परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ ।

यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ ।

यसले व्यक्तिको राष्ट्रिय पहिचान पत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नं र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस