जसपामा दुर्व्यवहार भएको भन्दै वीरगञ्ज महानगरका मेयरले गरे एमाले प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपामा दुर्व्यवहार भएको भन्दै वीरगञ्ज महानगरका मेयरले गरे एमाले प्रवेश


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।

मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।

विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए।

आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारे। मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए।

आफू काँग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि काँग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले काँग्रेस नरोजेको उनको भनाइ छ। उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको बताएका छन् । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए।

उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको स्पष्ट पारे। मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिएपनि स्वीकार गर्ने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस