हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित


३० फाल्गुन २०७८, सोमबार


रसुवा । पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

कोभिड–१९ सङ्क्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाईंकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन् । होटेल व्यवसाय सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०/२५ आन्तरिक र बाह्य पर्यटक गोसाईंकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटेल व्यवसाय चलायमान भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाईंकुण्ड र लाङटाङको भ्रमण गरेका छन् ।

वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि हुने विगतको तथ्याङ्कले देखाएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा एक हजार तीन अन्य देशका पर्यटकले भ्रमण गरेका छन् ।

धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनबारी, लौरिविनायक, गोसाइँकुण्डसम्म र लाङ्टाङ् पदमार्गको स्याफ्रुबेँसीहुँदै लाङटाङ क्याङ्जेन सम्मका पर्यटकीय पदमार्गका होटेल सञ्चालनमा आएको गजुरेल बताउँछन् ।

हिमाली पदयात्राका लागि आएका भारतीय यात्रु अमित पावर भन्छन्, ‘जीवनमा एक पटक पुग्नैपर्ने तीर्थ भएकाले भगवानको दर्शन गर्न आएका हौँ ।’ पर्यटकको आगमनसँगै पदमार्गका होटेल व्यवसायी खाद्यान्न ढुवानीमा व्यस्त हुन थालेका छन् ।

यस्तै गोसाईंकुण्ड पुग्ने यात्रुलाई खान बस्न सुविधा पुगोस् भन्ने उद्देश्यले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत अनुमति दिएका तीर्थस्थल नजिकैका चार होटेल नियमित सञ्चालन गराउन आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस