एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन्ः अध्यक्ष दाहाल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन्ः अध्यक्ष दाहाल


२९ फाल्गुन २०७८, आइतबार


मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्

प्रेस सङ्गठन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबिच प्रतिस्पर्धा हुन्छ ।’

अध्यक्ष दाहालले आफ्नो विचार, एजेन्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्ने प्राथमिकतासहित जनतासमक्ष जाने उल्लेख गर्दै चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरू र लेनदेन गर्न सहज हुनेहरूबिच गठबन्धन पनि हुनसक्ने बताए ।

‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरूको प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘गठबन्धनका पार्टीहरूबिच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाली काँग्रेस नेतृत्वको प्रधानमन्त्रीले गठबन्धन पार्टीबिच मिलेर चुनावमा जाने भनेकाले यसलाई गठबन्धनले सकारात्मक रूपमा लिएको बताए ।

उनले एमाले नेतृत्वसँग संसद् अवरुद्ध नगर्ने विषयमा गठबन्धन दलका शीर्ष नेतृत्वले छलफल गरेको तर सहमति नभएकाले विकल्पका रूपमा संसद् अवरुद्धबिच विधेयक पास गरी तोकिएको समयमा नै संसद्को निर्वाचन सम्पन्न गर्ने विषयमा गठबन्धन दलबिच सहमति भएको जानकारी दिए ।

मोरङको रङ्गेली नगरपालिका प्रमुखले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेको सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले केही मान्छे पार्टी छोड्ने तथा आउने जाने क्रम चलिरहन्छ, त्यो उनीहरूको व्यक्तिगत स्वार्थका कारणले भएको स्पष्ट पारे ।

उनले तत्काल एमालेसँग निर्वाचनमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै काँग्रेससँग कतिपय स्थानमा गठबन्धन गरी जान सकिने बताए । उनले माओवादी विचारधारा मिल्ने वामपन्थी दलसँग गठबन्धन गरी निर्वाचन जान सक्ने बताए ।

अध्यक्ष दाहालले एमसीसीको व्याख्यासहितको सम्मानजनक कार्यान्वयन हुने बताउँदै राष्ट्रिय स्वाधीनतासहित विकासमा यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस