पदमा रहुन्जेल नेपाली जनताकै काम गरेर बस्छु: मन्त्री आले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पदमा रहुन्जेल नेपाली जनताकै काम गरेर बस्छु: मन्त्री आले


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन्। उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गरे ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौँमा आयोजित छैटौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने ‘म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठुलो कुरा अरु केही छैन ।’

मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए ।

‘दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेदको अन्त गर्नुपर्छ’ उनले भने । समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले विगतदेखि नै वकालत गर्दै आएको उनको भनाई थियो ।

दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उनले बताए ।

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो । उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस