आम आद्मी पार्टीले पन्जाबमा पायो दुई तिहाइ मत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आम आद्मी पार्टीले पन्जाबमा पायो दुई तिहाइ मत


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण आम आद्मी पार्टी आपले पन्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीबार सम्पन्न विधान सभाको मतगणना अनुसार पन्जाबमा आपले दुई तिहाइ सिट जितेको छ ।

१ सय १७ सदस्यीय पन्जाब विधान सभामा आपले ९२ सिट जितेको छ । दिल्लीमा जस्तै गरिब नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली निःशुल्क दिने, भ्रष्टाचार अन्त्य गर्ने र पन्जाबको विकासलाई नयाँ मार्गबाट अघि बढाउने घोषणा गरेका आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवालको वाचालाई पन्जाबका नागरिकले सजिलै विश्वास गरेका छन् । अब पन्जाबमा कलाकारिता क्षेत्रबाट राजनीतिमा आएका आम आद्मी पार्टीका भगवन्त सिंह मान मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

पन्जाबमा आम आद्मीका युवा र नयाँ उम्मेदवारले काँग्रेस र अन्य दलका अग्रज र पुराना मानिएका नेताहरूलाई पराजित गरेका छन् । पन्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्व मुख्यमन्त्री अमरिन्दर सिंह, पूर्व क्रिकेटर समेत रहेका पन्जाब काँग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धु लगायतका नेताहरू आम आद्मीका उम्मेदवारसँग पराजित भएका छन् ।

पन्जाबमा अघिल्लो पटक सरकार बनाएको काँग्रेस अहिले १८ सिटमा सीमित भएको छ । यस्तै उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाकै सरकार दोहोरिने भएको छ । उत्तर प्रदेशमा चार सय तीन सिटमध्ये भाजपाले दुई सय ७४ सिट जितेको छ । अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले एक सय २४ सिट जित्यो भने काँग्रेस दुई सिटमै सीमित हुन पुग्यो ।

उत्तराखण्डमा पनि भाजपाले नै बहुमत ल्याएको छ । त्यहाँ भाजपाले ४८ र काँग्रेसले १८ सिटमा जित हात पारेको छ। मणिपुरमा पनि ६० सिटमध्ये भाजपाले ३२ सिट ल्याएको छ । गोवामा ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ, तर सरकार बनाउन भाजपालाई एक सिट नपुग्ने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस