एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि पास गरिएको हो : गृहमन्त्री खाँण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि पास गरिएको हो : गृहमन्त्री खाँण


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीसँगको अनुदान सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन गृहविभागीय १२ औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताएका हुन् ।

उनले भने, ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न ।’

एमसीसीले विद्युतमा विकास, गरिबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाँणले बताए ।

उनले विद्युत्‌को तारबाट विद्युत् आउने, विदेशी सेना नआउने बताए । उनले भने, ‘विद्युत्‌को तारबाट विद्युत् आउँछ, सेना आउँदैन । राष्ट्रियतालाई सबल बनाउन एमसीसी ल्याइएको हो ।’

गृहमन्त्री खाँणले नेपालमा उत्पादित विद्युत् खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनियता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियो ।

एमसीसी ऋण नभई अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको बताए । गृहमन्त्री खाँणले भने, ‘एमसीसी ऋण होइन, अनुदान हो । आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस