बझाङमा कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका पहिलो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बझाङमा कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका पहिलो


२३ फाल्गुन २०७८, सोमबार


बझाङ । बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो ।

प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३.६ प्रतिशत अङ्क पाएको छ । सुर्मा ६९.९३, छविस पाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९ र बुङ्गल नगरपालिकाले ६१.९३ अङ्क पाएका छन् ।

यसैगरी मष्टा गाउँपलिका ५६.६८, जयपृथ्वी नगरपालिका ५६.४९, खप्तडछान्ना गाउँपालिका ५६.१० र वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएका बताइएको छ ।

जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९/८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।

स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अङ्क दिने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस