पाटन–जावलाखेल–पुल्चोक धूम्रपान निषेधित क्षेत्र घोषणा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पाटन–जावलाखेल–पुल्चोक धूम्रपान निषेधित क्षेत्र घोषणा


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, खेलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

शुक्रवार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।

उनले आजबाट लागू हुने गरी सुरु भएको धूम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धूम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

मेयर महर्जनले भने, ‘स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले खेलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ । सुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ, त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’

मेयर महर्जनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दाबी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस