कुनै लाभ नलिने घोषण सहित धनगढी मेयरमा हमाल र वडाध्यक्षमा ४ जनाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुनै लाभ नलिने घोषण सहित धनगढी मेयरमा हमाल र वडाध्यक्षमा ४ जनाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । आसन्न स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

आज (बिहीबार) धनगढीमा एक कार्यक्रम आयोजना गर्दै उनले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए । घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले पनि सहभागी थिए ।

‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्न,’ घोषणा सभामा हमालले भने, ‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दिनँ । मेयरले पाउने कुनै लाभ लिँदिनँ ।’

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र लडेका हमाल काङ्ग्रेसका उम्मेदवार नृप बडसँग २ हजार ८ सय १५ मतले पराजित भएका थिए ।

मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएका थिए ।

चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले केही दिनअघि मात्र राजीनामा दिएका छन् ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्ध राज पनेरु, वडा नम्बर ५ मा पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस