बसपार्क निर्माणमा अनियमितता : उपमेयरसहित प्राविधिक निलम्बित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बसपार्क निर्माणमा अनियमितता : उपमेयरसहित प्राविधिक निलम्बित


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वाभाविक रूपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

अनुगमन समिति प्रमुखसमेत रहेका उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, इन्जिनियर मनोज शर्मा, सब–इन्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राज भण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माविरुद्ध मुद्दा दायर भएको हो । तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेललाई पनि नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारिस गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वाभाविक रूपमा परिवर्तन गरेको अख्तियारको आरोप छ । उनीहरूलाई अख्तियारले ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान ऐन तथा भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस