एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । उनले एमसीसीलाई दलका नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए ।

प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सम्झौतामा आपत्ति जनाउनुपर्ने विषय केही पनि नभएको दाबी गरे । उनले भने, ‘एमसीसी सामान्य अनुदान थियो, तर हामीले यसरी कोट्यायौं कि यो कुहिएर गन्हाउने अवस्थामा पुगेको छ। हामीले गिजोलेर यसलाई विषाक्त गरिएको छ। हामी बोल्न डराइरहेका छौं, आफ्नै क्षेत्रमा जान डराइरहेका छौं । तर यो सहयोग परियोजनाबाहेक केही पनि होइन ।’

भट्टराईले जनताको सार्वभौम अधिकारमा हनन् भएको भन्दै क्षमा समेत मागे । उनले भने, ‘जनताको सार्वभौम सत्ता प्रतिनिधिसभामार्फत् अभिव्यक्त हुन्छ । म दुःखका साथ भन्छु, गत ६ महिनादेखि प्रतिनिधिसभालाई जसरी बन्धक बनाएका छौं, यसले जनताको सार्वभौम अधिकारको अपमान भएको छ, म क्षमा माग्न चाहन्छु ।’

उनले एमसीसीलाई बद्लिदो भू–राजनीतिको शिकार बनाउन खोजिएको भन्दै त्यसमा चनाखो हुन आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस