काठमाडौँ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ ।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको स्वास्थ्यलाई ध्यान दिँदै उपयुक्त व्यवस्था गरिने तयारी भइरहेको बताए ।
मतदानस्थलमा भीडभाड कम गर्ने, मतदाताबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र मतदानस्थलमा प्रवेश गर्नेको ज्वरो नाप्नेलगायत व्यवस्था गर्ने तयारी गरिएको उनले जानकारी दिए । आयोगमा आसन्न स्थानीय तह निर्वाचनका लागि १९ दल दर्ता भएका छन् । दल दर्ताका लागि सूचना प्रकाशन भएपछि निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलको सङ्ख्या २९ पुगेको उनले जानकारी दिए ।
आयोगमा बहुजन एकता पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समावेशी पार्टी र राष्ट्रिय जनमोर्चा दर्ता भएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।
राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल र पिछडावर्ग निषाद दलित जनजाति पार्टी दर्ता भएको छ ।
निर्वाचनमा खटिने जनशक्तिको बीमा गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार आयोगले निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ अनुमानित जनशक्तिको प्रतिव्यक्ति रु २० लाखको बीमा गर्न बीमा कम्पनीसँग प्रस्ताव माग गरिएको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि मतदान कार्यमा संलग्न हुनेका लागि कोभिड–१९ को महामारीलाई रोकथाम गर्ने स्वास्थ्य सामग्री (मास्क र स्यानिटाइजर) र प्राथमिक उपचारका स्वास्थ्य सामग्री खरिद गर्न बोलपत्रको आह्वान गरिएको आयोगको भनाइ छ ।