एमसीसीविरुद्ध माओवादी केन्द्रले विरोध जनाउने, जनवर्गीय संगठनहरु सडकमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमसीसीविरुद्ध माओवादी केन्द्रले विरोध जनाउने, जनवर्गीय संगठनहरु सडकमा


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आज (बुधवार)को प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।

सडकबाट पनि दबाब दिने उद्देश्यले उसले आफ्ना सबै जन वर्गीय सङ्गठनहरूलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज (बुधवार) माओवादी केन्द्रका जन वर्गीय सङ्गठनहरूले नयाँबानेश्वरमा प्रदर्शन गर्दै छन् ।

पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एकजना नेताले संसद्मा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए । प्रतिनिधि सभा सदस्यसमेत रहेका ती नेताले भने, ‘हामी स्पष्ट रूपमा एमसीसीको विरोधमा छौँ ’ ।

संसद्मा टेबुल भए हामी विरोध जनाउँछौं ।’ दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे बोलाइएको संसदीय दलको बैठकले त्यसै अनुसारको निर्णय गर्ने ती नेताको भनाइ छ ।

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जन वर्गीय सङ्गठनहरूलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको वाईसीएलका नेता सुबोध शेर्पाले बताए ।

‘उनले पार्टीले दिएको निर्देशन अनुसार महिला, विद्यार्थी, युवा, मजदुर लगायतका पार्टीका सबै जन वर्गीय संगठन भेला भएर विरोध प्रदर्शन गर्ने बताए ।  नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसीको विरोधमा आजै नयाँबानेश्वरमा प्रदर्शन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस