काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेको हो ।
मुलुकका हजारौँ नागरिकले परिचय पत्र नहुँदा खोपबाट वञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबारको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।
उनले भने, ‘परिचय पत्र नभएपनि अब योग्य नागरिकले खोप लगाउन सक्नेछन् ।’ नागरिकता, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकलाई कोभिड संक्रमण हुन सक्ने अवस्थालाई ख्याल गर्दै उक्त निर्णय भएको प्रवक्ता अधिकारीले जनाए ।