प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण


२७ माघ २०७८, बिहिबार


दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् ।

सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।

उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

सरकारले गत वर्ष सदरमुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ ।

विसं २०६५/६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्त्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ ।

धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि छन् । दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस