आयल निगमद्वारा आईओसीलाई करिब ८ अर्ब रुपैयाँ भुक्तानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयल निगमद्वारा आईओसीलाई करिब ८ अर्ब रुपैयाँ भुक्तानी


२६ माघ २०७८, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले हिजो (मंगलबार) आईओसीलाई सो रकम भुक्तानी गरेको निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

आयल निगमले हरेक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ । आगामी २३ तारिखमा करिब १२ अर्ब रुपैयाँ पठाइने निगमले जनाएको छ ।

‘यसपटक मूल्य स्थिरीकरण कोषबाट रकम झिकिएन, अबको समय भुक्तानी व्यवस्थापन गर्न कठिनाइ देखिन्छ’ साहले भने । उनका अनुसार अब मूल्य स्थिरीकरण कोषमा ६ अर्ब रुपैयाँ बाँकी छ । ‘स्वचालित मूल्य प्रणालीअनुसार समयमै मूल्य समायोजनको निर्णय नहुँदा निगमलाई ठुलो नोक्सानी छ’ उनले भने ।

जोर बिजोर प्रणाली पनि खुल्ला भइसकेकाले अब तेलको खपत झन् बढ्न जानेछ । खपत जति बढ्यो निगमलाई घाटा रकम पनि त्यति नै बढ्न जान्छ । निगमलाई हाल पेट्रोल, डिजेल र ग्यासमा ठुलो नोक्सानी छ भने हवाई इन्धन र मट्टितेलमा भने फाइदा छ ।

नेपालमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठुलो छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको पहिलो पाँच महिना साउनदेखि मङ्सिर मसान्तसम्म मात्रै १ खर्ब ६ अर्ब २७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयात हुने बस्तुमा रकमका आधारमा यसको हिस्सा मात्रै १२. ७ प्रतिशत छ।

Tags :
प्रतिक्रिया दिनुहोस