सभामुखले राजनीति गरे : सचिव अर्याल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सभामुखले राजनीति गरे : सचिव अर्याल


२३ माघ २०७८, आइतबार


बागलुङ । नेकपा एमाले सचिव पद्मा अर्यालले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गरेको आरोप लगाएकी छिन् । उनले सभामुख भएर राजनीति गर्न नपाइने बताइन् ।

अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप समेत लगाइन् । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति सहकार्य गर्न नखोज्नेले सभामुखको गरिमा बचाउन सक्दैनन् ।’

उनले निर्वाचन ढिलाइ गरेर सरकारले लोकतन्त्र मास्न खोजेको आरोप पनि लगाइन् । आज (आइतबार) प्रेस चौतारी नेपाल, बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्यालले सरकारलाई नालायकको संज्ञा समेत दिइन् ।

यसका साथै उनले चुच्चे नक्सा सार्वजनिक गरेको भन्दै वर्तमान सरकारले त्यो नक्साको संरक्षण गर्न नसकेको आरोप लगाइन् । ‘मैले नक्सा सार्वजनिक गरेँ । तर, वर्तमान सरकारले त्यही नक्साको रक्षा गर्न सकेन,’ उनले भनिन्, ‘विदेशीले धमाधम सडक खन्दा सरकार लुगलुग कामेर बसेको छ ।’ वर्तमान सरकार भारतसँग कापेको उनको भनाइ थियो ।

उनले एमसिसीबारे एमाले नबोल्ने बताइन् । सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने भएकोले एमाले बोल्नु नपरेको टिप्पणी गरिन् । ‘गठबन्धनकै १ सय ६५ सिट छ । त्यो बहुमत हो । एमसिसी पास गर्न चाहेको भए पास गरे भयो,’ उनले भनिन्, ‘संसद्‌मा पेस भएर छलफलमा बोलाए मात्रै एमाले बोल्ने हो ।’ जिम्मेवार प्रतिपक्षको भूमिकामा बसेर एमालेले काम गरेको दाबी गर्दै संविधान नमिच्न सरकारलाई चेतावनी पनि दिइन् । निर्वाचन नतोकेर संविधान उल्लङ्घन गरेको भन्दै उनले सरकारको आलोचना गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस