मधेस प्रदेश: प्रदेशसभाको वार्षिकोत्सव स्थगित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मधेस प्रदेश: प्रदेशसभाको वार्षिकोत्सव स्थगित


२२ माघ २०७८, शनिबार


धनुषा । मधेश प्रदेशको प्रदेशसभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ ।

बिहीबार रातिदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा चलेको हावाहुरी र वर्षाको कारणले कार्यक्रम गर्नका लागि बनाइएको टेन्टहरू उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका हुँदा वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

सभामुख यादवले मौसम प्रतिकूल भएपछि कार्यक्रम गर्ने अवस्था नभएका कारण वार्षिकोत्सवको कार्यक्रम स्थगित गर्नुपरेको बताए । उनले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त कार्यक्रममा सहभागी भएर विजयी भएका कर्मचारी तथा प्रदेशसभाका सदस्यहरूलाई पछि पुरस्कृत गर्ने जानकारी दिए ।

प्रत्येक वर्ष प्रदेशसभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने एक जना प्रदेशसभाका सदस्यलाई रु ५० हजारसहित पुरस्कृत गर्ने गरिएको छ ।

शुक्रबार दिउँसो १ बजे प्रदेश प्रमुख हरिशङ्कर मिश्रको प्रमुख आतिथ्यमा उदघाटन गर्ने कार्यक्रम तय भएको थियो ।

चौथो वार्षिकोत्सवको अवसरमा यसअघि विभिन्न प्रकारका कार्यक्रम आयोजना भए पनि अन्तिम दिन भव्य कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तय भए पनि अन्तिम क्षणमा आएर कार्यक्रम स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस