इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटना छानबिन गर्न समिति गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटना छानबिन गर्न समिति गठन


१७ माघ २०७८, सोमबार


काठमाडौँ । इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटनाबारे छानबिन गर्न प्रहरीले समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबिनका लागि प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो ।

जिल्लाको रोङ गाउँपालिका–४, पहिरोमा गत १२ माघमा जीप दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको मृत्यु भएको थियो ।

घटनामा उनीहरुको साथमा रहेको करिब चार लाख रुपैयाँ र आधा तोला सुनको औँठी हराएको थियो ।

मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसी बाख्रा खरिद गरी झापामा ल्याएर विक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

‘खसी बाख्रा किन्न उहाँहरु नगद बोकेर जानु भएको थियो, घटनास्थल पुग्दा प्रहरी र स्थानीयको भिड थियो’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औँठी त्यहाँ थिएन ।’

जिल्ला प्रहरी कार्यालय, इलामले सोमबार विज्ञप्ति जारी गर्दै ‘सञ्चारमाध्यममा आएको विषयबारे’ विस्तृत रुपमा अध्ययन भइरहेको भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा कसैको संलग्नता पाइए कानुन बमोजिम कडाभन्दा कडा कारबाही हुनेछ ।’

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस