कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु


१७ माघ २०७८, सोमबार


सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ ।

सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर आलोपालो प्रणालीले स्थानीय तह छुट्याई सेवा प्रवाह सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सेवा प्रवाह गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ १० गतेबाट शान्ति सुरक्षा र मुद्दा सम्बन्धी कामबाहेक अन्य सबै सेवा बन्द गरिएको थियो ।

माघ ७ गतेको निर्णय अनुसार प्रत्येक स्थानीय तहलाई आलोपालो पद्धतिमा सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले जानकारी दिए ।

उनका अनुसार कोरोनाको जोखिम कायमै रहेकाले नौ वटा स्थानीय तहमध्ये दुई दिन तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरी क्लष्टर मिलाएर सेवा प्रवाह सुरु गरेका छ ।

जसअनुसार आइतबार र सोमबार कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाँउपालिकाका सेवाग्राही, मङ्गलबार र बुधबार दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, सुनकोसी गाउँपालिकाका सेवाग्राही, बिहीबार र शुक्रबार हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

सेवा प्रवाह सुरु गरिएपछि एक सातादेखि सुनसान जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चहलपहल बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस