एमसिसी पारित गर्न सबै पोजेटिभ छौँ : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसिसी पारित गर्न सबै पोजेटिभ छौँ : वरिष्ठ नेता पौडेल


१७ माघ २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पारित गर्ने विषयमा गठबन्धनका सबै दल ‘पोजेटिभ’ रहेको बताएका छन् ।

गठबन्धनका शीर्ष नेताबीच एमसिसी पारित गर्ने सहमति भएको सन्दर्भमा नेता पौडेलले राष्ट्रिय महत्त्वका विषयमा गठबन्धनले साझा धारणा बनाउँदै जाने बताएका हुन् । एमसिसीबारे सार्वजनिक भएका चासोहरुलाई सम्बोधन गर्ने गरी संसदबाट अनुमोदन गराइने पौडेलले बताए ।

गठबन्धनमा एमसिसीबारे कुनै विवाद नरहेको बताउँदै नेता पौडेलले बुझाइ फरक भए पनि बिस्तारै ‘साझा धारणा’ बन्दै गएको बताए ।

‘गठबन्धन सरकारले राष्ट्रिय महत्त्वका धेरै विषयमा साझा धारणा बनाएको छ । त्यसमध्ये एमसिसी पनि एक हो’, पौडेलले भने । उनले एमसिसीबारे अलमलमा बस्नुभन्दा टुङ्गो लगाउनु उत्तम हुने कुरा आफूले गठबन्धनमा राखेको बताए । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसिसीबारे प्रस्ट कुरा गर्नुपर्ने भन्दै नेता पौडेलले अब संसदले निकास खोज्नुपर्ने बताए ।

‘एमसिसी नचाहिने नै हो भने उहाँहरूले रिजेक्ट गर्छौँ भन्न सक्नुपर्‍यो । होइन भने दोहोरो कुरा गरेर जनतालाई अलमलमा पार्नु हुँदैन । राष्ट्रघाती छ भने कहाँ छ देखाउनुपर्‍यो भनेर हामीले भनेका छौँ । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । केही दिन समय माग्नुभएको छ’, पौडेलले भने ।

‘निकास त देशलाई दिनुपर्‍यो । गठबन्धन अब निरीह बसिरहन सक्दैन । सबै विषयमा गठबन्धन क्लियर कट हुनुपर्छ’, पौडेलले भने । उनले मुलुक सधैँ ऋणमा नचल्ने भन्दै अनुदानमा प्राप्त सहयोग लिनु अन्यथा नहुने बताए ।

‘हामीले विकासका लागि अन्तर्राष्ट्रिय सहयोग त जुटाउनै पर्छ नि । अमेरिका मात्रै होइन भारत, चीन, जापान, बेलायत जसले दिए पनि विकासका लागि सहयोग त लिनुपर्‍यो नि’ पौडेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस