‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’


१० माघ २०७८, सोमबार


रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन् ।

उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताए ।

दोस्रो खोप लगाएकामा कोरोना सङ्क्रमणको सङ्ख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारुले खोप प्रदान गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको जानकारी दिए ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशत र दुवै खोप लगाएकामध्ये एक प्रतिशतको मात्र मृत्यु भएको बताए ।

उनले ग्रामीण भेगका नागरिकमा चेतनाको अभावले गर्दा खोप लगाउनेको सङ्ख्या पूर्ण हुन नसकेको जनाउँदै स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी गरेरै खोप लगाउने तयारी गरिरहेको उल्लेख गरे ।

पूर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको धारणा राखे । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग समन्वय र परिचालनका साथै कर्मचारी परिचालनमा प्रदेश सरकारको भूमिका कमजोर भएको टिप्पणी गरे ।

उनले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको जनाउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गर्न नहुने बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्व तयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्त्व नपाएको आरोप लगाए। लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले महामारीमा निजी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई उपेक्षा गरेको बताए ।

नेपाल जनस्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सह कोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटेर काम गर्दा पनि मूल्याङ्कन नभएको गुनासो गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस